काठमाडौं । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले पार्टीभित्र हाल देखिएको नेतृत्व विवादप्रति तीखो प्रतिक्रिया जनाएका छन् । बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्र अहिले केपी शर्मा ओलीको नेतृत्वलाई कमजोर पार्ने वा विस्थापन गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनका अनुसार, हाल अष्टलक्ष्मी शाक्य लगायतका केही नेताहरूले ‘केपी शर्मा ओलीलाई लिएर चुनावमा जान सकिँदैन’ भन्ने अभिव्यक्ति दिएपछि पार्टीभित्र नयाँ बहस सुरु भएको छ । बस्नेतले भनेका छन्, “पार्टीभित्र अहिले एउटा प्रश्न जबरजस्त उब्जिएको छ – आगामी निर्वाचनमा केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी जाँदा उपयुक्त हो कि अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवली, ईश्वर पोखरेल वा योगेश भट्टराईको अनुहार लिएर अघि बढ्दा राम्रो होला ?”
बस्नेतले आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा हुने एमालेको महाधिवेशन नै यस विषयमा निर्णायक हुने बताएका छन् ।
“सो अधिवेशनले अब सबै कुरा छिनोफानो गर्नेछ । वैकल्पिक क्षमता देखाउन नसक्ने र खाली विरोध गर्ने नेताहरूको वास्तविक हैसियत त्यहीँ खुल्नेछ,” बस्नेतले चेतावनी दिएका छन् ।
बस्नेतले केही नेताहरूलाई संकेत गर्दै लेखेका छन्, “पार्टीभित्र सधैं प्रभावकारी र सकारात्मक भूमिका खेल्ने कि भित्रभित्र गुटबन्दी गरेर मौन सर्पझैं अवसर कुरिरहने—यो प्रश्न अहिले सबैको सामु छ ।”
उनको आरोप छ, “अब परिस्थिति प्रतिकूल बनेको बेला यही मौका हो भनेर अध्यक्ष ओलीलाई विस्थापित गर्न खोज्नेहरू वास्तवमा पार्टी बदनाम गराउने अभियानमा छन् ।”
युवा नेता बस्नेतले भनेका छन्, “आम कार्यकर्ताले विवेकपूर्ण फैसला गर्ने समय आएको छ । नेतृत्वविरुद्धको असन्तोष होइन, एकताको पक्षमा दृढ उभिने हो भने मात्र एमाले बलियो हुन्छ ।”
महेश बस्नेतको यो अभिव्यक्ति हाल एमालेलाई घेरेको आन्तरिक बहसको केन्द्रमा पुगेको देखिन्छ । एकातिर अष्टलक्ष्मी शाक्य लगायतका केही नेताहरू ओलीको विकल्प खोज्नुपर्ने धारमा छन् भने अर्कोतर्फ बस्नेत लगायत युवा पुस्ता अर्थात ९० प्रतिशत नेता कार्यकर्ता “ओलीकै नेतृत्वमा चुनावी एकता” चाहने पक्षमा देखिएका छन् ।
आगामी पोखरा महाधिवेशनले एमालेलाई कुन बाटोमा डोऱ्याउने हो भन्ने चासो पार्टीभित्र मात्र होइन, समग्र राजनीतिमा बढ्दो छ । तर परिणाम पछिल्लो केन्द्रीय कमिटी वैठकले लगभग निश्चित प्रायः गरिसकेको छ ।

























