काठमाडौं । केही दिनदेखि निरन्तर परेको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न जिल्लामा राजमार्ग अवरुद्ध भएका छन् । बाढी–पहिरोका कारण बीपी राजमार्ग, तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको छ ।
उता गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको समेत ठाउँ–ठाउँमा पहिरो र जमिन भासिएका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द भएको छ ।
मोन्था चक्रवातको आंशिक प्रभावले कोशी प्रदेशका इलामसहितका जिल्ला समेत जोखिममा पर्ने पूर्वानुमान सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो ।

























