काठमाडौं । जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिहरू पुनः सक्रिय हुन थालेका छन् । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक सिंहदरबारमा बसेको हो ।
बैठकको एजेन्डामा समितिको आगामी कार्ययोजना, स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमबारे छलफल हुने उल्लेख थियो। तर, सांसदहरूले बैठकमा हालैको जेनजी आन्दोलनलाई विशेष रूपमा स्मरण गर्दै त्यसबारे सरकारसँग प्रत्यक्ष छलफल गर्नुपर्ने माग उठाएका छन्।
बैठकमा सांसद जग प्रसाद शर्मा, राजेन्द्र लक्ष्मी गैरे, गोपी बहादुर सार्की अक्षामीलगायतका सदस्यहरूले प्रधानमन्त्री वा गृहमन्त्रीलाई समितिमा बोलाएर आन्दोलनसँग सम्बन्धित विषयमा छलफल गर्नुपर्नेमा जोड दिए । सांसद शर्माले भने, “प्रधानमन्त्रीकै उपस्थितिमा छलफल गर्न सकिन्छ, त्यसका लागि पहल गर्नुपर्छ।”
सांसदहरूले विकास योजना कटौती लगायतका निर्णयबारे पनि समिति स्तरमा विस्तृत समीक्षा र छलफल आवश्यक रहेको बताएका छन्।
समिति सभापति सोनाम गेल्जेन शेर्पाले सांसदहरूको सुझावप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री वा सम्बन्धित अधिकारीसँग छलफलका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
























