काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद दयालबहादुर शाहीले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीचको एकता आवश्यक भएको बताएका छन् । उनले दुई पार्टीलाई आफूले मिलाउन सक्ने दावी पनि गरेका छन् । एमाले शक्तिशाली भए मात्रै देश पुनः स्थायित्व र विकासको लयमा फर्किने शाहीले बताएका छन् ।
उनले पार्टीबीचको विभाजन र आपसी अविश्वासले देशलाई बारम्बार संकटमा धकेल्दै आएको भन्दै एकताको पहल गर्नुपर्ने धारणा राखेका छन् ।
आफूले विगतमा पनि असम्भव जस्तो देखिएको एकता सम्भव बनाएको बताउँदै शाहीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “२०५८ सालमा वामदेव बटालियन घर फर्कँदा बाजुरामा एमालेका नेताहरूबीच पानीबाराबारको अवस्था थियो । त्यतिबेला मैले पार्टी एकता र घरफर्क अभियान सफल बनाएँ, त्यो मेरो राजनीतिक इतिहासको उज्यालो अध्याय हो ।”
नेता शाहीले हालको राजनीतिक परिस्थितिलाई पनि त्यही समयसँग तुलना गर्दै भने, “२०५४ सालमा एमाले विभाजन भएपछि चार वर्षमै देशले संकटकालको सामना गर्नुपर्यो । २०७८ सालमा पुनः विभाजन भएको चार वर्षमै अहिले देश अघोषित संकटकालको जस्तो अवस्थामा पुगेको छ ।”
शाहीले एमाले पुनः लयमा फर्किए मात्र देशले पनि लय पक्रिन सक्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार विभाजनका कारण पार्टीले आफ्ना दक्ष, निष्ठावान् र अनुभवी नेताहरू गुमाएको छ, जसले संगठनलाई कमजोर बनाएको छ ।
“महानायक ओलीसँगको ३० लाख जनमत छ, तर विभाजनले संगठन, विभाग र कमिटीहरू लयमा आउन सकेका छैनन्,” उनले भने ।
माओवादीसँगको एकता विचारगत नभई व्यवहारगत मिश्रण भएको बताउँदै शाहीले भने, “एमाले र समाजवादीबीचको एकताको बाधक विचार होइन, व्यक्तिगत अहंकार र कुण्ठा हुन् ।”
उनले भने -“माओवादीसॅग एसको एकता रंग मिले पनि कोदो र तोरीको मिश्रण हो भने एमाले र एसको एकताको बाधक हाम्रो एउटै साझा विचार, सिद्दान्त, नीति, आदर्श, विरासत र जनमतहरु होइनन्, नितान्त ब्यक्तिवादी चिन्तन र कॅुडिएका मन मात्र हाम्रा समस्या हुन् ।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र समाजवादी नेता माधवकुमार नेपालबीच सहकार्य हुनुपर्नेमा जोड दिए। शाहीका शब्दमा, “ओली–माधव सहकार्य जब–जब भयो, संकट टर्यो, जब मनमुटाव भयो, दुवै पक्ष कमजोर बने । अहिलेको संकट पार गर्न नेताद्वयबीच कृष्ण–अर्जुन जस्तो साझेदारी आवश्यक छ ।”
शाहीले माधव नेपाल र झलनाथ खनाल जस्ता वरिष्ठ नेताहरूको योगदान केवल १० सिटको सीमित पार्टीमा सिमित रहन नसक्ने बताए । त्यस्तै उनले ओलीको राजनीतिक हैसियत भारतका प्रधानमन्त्री मोदीसँगको बराबरीको तहमा रहेको भन्दै विभाजनले त्यो धरातल कमजोर बनाएको टिप्पणी गरेका छन् ।
अन्त्यमा शाहीले सबै नेताहरूलाई संवाद, आत्मालोचना र सहकार्यतर्फ उन्मुख हुन आग्रह गर्दै भने, “मिल्ने बेला र चिल्ने बेलाको भाषा एउटै हुँदैन । रुखा शब्दले घाउ निको पार्दैन । सबैको टहल र इमानदार पहल नै बहुदलीय जनवादको आत्मा हो ।”


























