काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ आज दक्षिण कोरियामा भेटवार्ता गर्न लागेका छन्। दुई देशबीच लामो समयदेखि चलिरहेको व्यापार युद्धका बीचमा हुने यो भेटलाई अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
ह्वाइट हाउसका अनुसार ट्रम्प र सीबीचको भेट कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे दक्षिण कोरियाको बुसान शहरमा हुनेछ। चीनको विदेश मन्त्रालयले पनि उक्त भेटको समय र स्थानको पुष्टि गरेको छ।
दुवै नेताबीचको वार्तामा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आपसी हितका विषय र व्यापारिक विवाद समाधानका मुद्दाहरूमा केन्द्रित छलफल हुने बताइएको छ।
भेटअघि मलेसियामा दुई देशका उच्च अधिकारीबीच भएको तयारी बैठकले सम्भावित व्यापार सम्झौताको प्रारूप तयार पारेको जानकारी सार्वजनिक गरिएको छ।
ट्रम्प र सीले दक्षिण कोरियाको ग्यांग्झूमा आयोजना हुने एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) शिखर सम्मेलनमा पनि सहभागिता जनाउनेछन्। सो सम्मेलनमा सहभागी हुनुअघि हुने यो भेटलाई व्यापार सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र सीबीचको वार्ताअघि नै चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको छ, जुन यस वर्षको पहिलो अमेरिकी कृषि उपज खरिद हो। यसले दुई देशबीचको व्यापार सम्बन्धमा सुधारको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
अमेरिकाले लगाएको उच्च व्यापारिक शुल्क र चीनको प्रतिशोधी कदमका कारण अमेरिकी किसानहरूलाई अरबौँ डलर बराबरको क्षति पुगेको बताइँदै आएको छ। त्यसैले आजको भेटले अमेरिकी–चीन व्यापार युद्ध अन्त्यतर्फ मार्ग खुलाउने अपेक्षा गरिएको छ।

























