काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको पक्षमा बोल्ने नेताहरूमाथि प्रहार गर्दै ती नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् ।
बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले एमालेविरुद्धको विद्रोहलाई औचित्यहीन ठहर गर्नेहरूलाई सीधा सन्देश दिँदै भने,
“एमालेविरुद्ध विद्रोहको औचित्य छैन भन्नेहरू केपी ओलीका सामु लम्पसार पर्न तयार भएकाहरू हुन्। यस्तो सोच हुनेहरू गए हुन्छ।”
उनको भनाइ पार्टीभित्र पछिल्ला दिनमा एमालेसँग पुनः एकताको सम्भावनाबारे उठेका आवाजहरूलाई लक्षित थियो। बैठकमा झलनाथ खनाललगायतका केही नेताहरूले विद्रोहको औचित्य अझै स्पष्ट हुन नसकेको भन्दै प्रश्न उठाएका थिए।
अध्यक्ष नेपालले भने आफ्नो नेतृत्वमा भएको विभाजन सही र आवश्यक थियो भन्दै जोड दिए। “हामीले पार्टी खोल्दा गल्ती गरेका छैनौं। चुनौतीहरू आइरहन्छन्, हामी तिनको सामना गर्न तयार छौं,” उनले भने।
नेपालले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनालाई सकारात्मक रूपमा हेर्नुपर्ने बताए। तर, उनले स्पष्ट पारे — “कुनै पनि पार्टीसँग एकता हुनुपर्छ भने हाम्रो सैद्धान्तिक आधार र मार्गदर्शन सिद्धान्त नछोडी मात्रै सम्भव हुन्छ।”
बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको मार्गदर्शन सिद्धान्त र नीति स्पष्ट गरिएको छ। त्यसअनुसार, पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ हुनुपर्ने, नेपाली क्रान्तिको जनवादी चरण पूरा भइसकेको र देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्नु पर्ने, दलाल–नोकरशाही पुँजीपति वर्ग र आम जनताबीचको अन्तर्विरोधलाई मूल अन्तर्विरोधका रूपमा लिनुपर्ने, मार्क्सवाद–लेनिनवादलाई पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्नुपर्ने, र लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आधार मान्नुपर्ने उल्लेख छ।
प्रतिवेदनमा थप भनिएको छ — “यी सैद्धान्तिक अवधारणाहरू छोडेर कसैसँग पनि पार्टी एकता हुन सक्दैन। तर, यिनै आधारमा समान धारणा राख्ने कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भए, त्यसप्रति हामी नकारात्मक हुन हुन्न। बरु त्यसका लागि पहल गर्न हामी तयार रहनुपर्छ।”
माओवादीसँग एकता अर्थात पुष्पकमल दाहाल प्रचण्डसँग लम्पसार परिसकेका अध्यक्ष नेपालको “प्रचण्डसँग हात मिलाउनु सैद्धान्तिक एकता हो, तर ओलीका सामु लम्पसार पर्नु आत्मसमर्पण हो ।” भनेपछि केन्द्रीय सदस्यहरु मुखामुख गरेर मन्द मुस्कान छोडेका थिए ।
माधव नेपाल चाँडै नै माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा छन् । उनको योजना अनुसार एकता भए सायद यो नै अन्तिम केन्द्रिय कमिटी वैठक हुन सक्ने नेकपा एसका नेताले बताएका छन् । तर झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाक्री, किसान श्रेष्ठ, प्रेम आलेलगायतका नेताहरुले भने माओवादीसँग एकता रुचाएका छैनन् । उनीहरुले पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउँदै आएका छन् ।
एकीकृत ९समाजवादी०को विभिन्न संगठनमा आबद्ध ५२६ जना पार्टी पुनर्गठनको माग गरेका छन् । माओवादी केन्द्रसँग एकताको प्रयास भइरहेको बेलामा संयुक्त अपिल जारी गर्दै अन्य दलसँगको गठजोडको बहस छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
अपिलमा भनिएको छ, ‘अन्य दलसँगको गठजोडको अनावश्यक बहसमा समय गुजार्नेतिर लाग्नुको बदला नेकपा ९एस० भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भूमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषतः जेनजी पुस्तालाई उनीहरूले उठान गरेका विषयलाई संगठित रूपमा पुरा गर्न हाम्रो पार्टीको झन्डामुनि गोलवन्द भएर सम्भव छ भन्ने विश्वास दिलाउँदै अगाडी बढ्नु पर्दछ ।’
यो प्रस्तावलाई स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पनि समर्थन गरेकी छन्। समयको माग अनुसार पार्टीमा जेनजी पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ।
उनले भनेकी छन्, ‘यो मात्र पुस्ता हो, न वर्ग हो, न जातजाति हो, न त यो विचार धारा हो, न भूगोल वा क्षेत्र हो। यो त मात्र एउटा निश्चित समयमा जन्मेका मान्छेहरूको समूह मात्र हो। त्यसैले यसलाई राजनीति र विचारधारात्मक रूपमा दीक्षित गर्दै संगठित गर्नुपर्छ।’
त्यसो त हालै बसेको स्थायी कमिटी बैठकमा महासचिव घनश्याम भुसालसहित नेताहरू जीवनराम श्रेष्ठ, डा।विजय पौडेल, रामकुमारी झाँक्रीलगायत नेताहरूले अध्यक्ष माधव नेपालको राजीनामा मागेका थिए। आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पनि यो विषयले प्रवेश पाउने नेताहरूले बताएका छन् ।
























