काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज साँझ बालुवाटारमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीका १४ जना र विभिन्न राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
छलफल आज साँझ ४ बजे प्रधानमन्त्री निवासमा हुनेछ । सरकारले यस छलफलमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेललाई प्रतिनिधित्व गराउनेछ।
यो छलफल जेनजी आन्दोलनपछि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबीच संयुक्त रुपमा हुन लागेको हो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएका थिए । त्यसपछि नयाँ सरकार गठन नहुँदा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।
कार्की नेतृत्वको सरकार भदौ २७ गते गठन भएको हो । त्यसयता सरकारले जेनजी र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्दै आएको थियो । आजको बैठक पहिलो औपचारिक संयुक्त संवाद हो।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले बालुवाटारमै सर्वदलीय बैठक बोलाएकी थिइन्, भने असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले पनि राजनीतिक दलहरूबीच सर्वदलीय बैठक गरेका थिए।
वर्तमान राजनीतिक अनिश्चितता र आगामी निर्वाचनबारे उत्पन्न संशयका बीच सरकारले चुनावको वातावरण निर्माण गर्ने प्रयासस्वरूप यो छलफल आयोजना गरेको जनाएको छ।
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार, प्रधानमन्त्रीले सरकार, राजनीतिक दल र जेनजीबीच विश्वास पुनःस्थापना गर्दै आगामी फागुन २१ गते हुने भनिएको चुनावको तयारी अघि बढाउने उद्देश्यले त्रिपक्षीय छलफल आह्वान गरेकी हुन्।

























