काठमाडौँ । भारी हिमपातका कारण मनाङका विभिन्न क्षेत्रहरूमा फसेका करिब १,५०० जनाको नेपाली सेनाको नेतृत्वमा सफल उद्धार गरिएको छ। सेनाको उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीको सहकार्यमा उद्धार कार्य सम्पन्न गरेको हो ।
नेपाली सेनाले बुधबार बिहान जानकारी दिँदै मंगलबारदेखि निरन्तर परेको हिमपातका कारण तिलिचो, खाङसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका २०० भन्दा बढी विदेशी पर्यटकसहित करिब १५ सय मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको छ।
मनाङस्थित सेनाको नयाँ भैरवी दल गुल्मबाट खटिएको टोलीले हिमपातका बीचमा उद्धार कार्य सञ्चालन गरेको थियो।
स्थानीयका अनुसार हिमपातका कारण खाङसार क्षेत्रमा होटल तथा आवासको अभाव भएपछि केही पर्यटकलाई तत्काल सुरक्षित स्थानमा फर्काइने व्यवस्था मिलाइएको हो।
यसैबीच, काठमाडौं महानगरपालिका–३१ निवासी ४५ वर्षीय वीरेन्द्र रसाइली लेक लागेर बेहोस भएका थिए, जसलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरी उपचारका लागि पठाएका छन्।

























