सोलुखुम्बु । सगरमाथा आधार शिविर नजिकै लबुचेमा आज (बुधबार) बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्लाबाट उद्धार उडानका लागि लबुचे गइरहेको अल्टिच्युड एयरको नाइन एन–एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्र सवार थिए। उनी सकुशल रहेका प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिएका छन्।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार अवतरणको क्रममा हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।
‘हेलिकप्टरमा पाइलट मात्र थिए, उनको सकुशल उद्धार गरिएको छ,’ पाण्डेले बताइन् ।

























