काठमाडौँ । एघारौँ महाधिवेशनको तयारीलाई तीव्रता दिने उद्देश्यले नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक यही कात्तिक १५ गते बस्ने तय गरिएको छ ।
उनका अनुसार बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गर्नेछ । यसअघि असोज २९ देखि ३१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरिसकेको थियो।
सचिवालयका एक नेताका अनुसार आगामी बैठकमा महाधिवेशन प्रतिनिधि छनोटको विधि, उपसमिति गठन, र स्थानीय आयोजकहरूसँगको समन्वय लगायतका विषयमा निर्णय हुनेछ। साथै बैठकले महाधिवेशन तयारीको पूर्ण खाका, लोगो र नारा समेत सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, पार्टीको गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी, र पोखरा महानगर कमिटी ले प्रारम्भिक तयारी अघि बढाइसकेका छन्। भदौ २४ गतेको विध्वंसमा च्यासलस्थित केन्द्रीय कार्यालय जलाएपछि, सोही स्थानमा पाल टाँगेर अस्थायी कार्यालय सञ्चालन भइरहेको छ।
डा. अधिकारीका अनुसार त्यही अस्थायी कार्यालयबाट नियमित कामसँगै महाधिवेशन तयारीसम्बन्धी गतिविधिहरू पनि अघि बढाइएका छन्।
























