काठमाडौँ । मकवानपुरमा सोमबार बिहान ग्यास बुलेटको ठक्करबाट स्कुटर सवार एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती र छोरा घाइते भएका छन् ।
चितवनबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आइरहेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो । उनकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ घाइते भएका छन् ।
गम्भीर घाइते भएका केदारलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । सरस्वती र प्रवीनको चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको अवस्था गम्भीर रहेको र प्रवीनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ग्यास बुलेटका चालक भारत बिहारका ५५ वर्षीय मोहम्मद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको छ ।
























