काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन तथा आमसभा गर्ने तयारी गरेको छ ।
पार्टीका नेता सन्तोष बुढामगरका अनुसार जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र अन्य समसामयिक विषयमा पार्टीको धारणा जनतामाझ पुर्याउने उद्देश्यले सभा आयोजना गर्न लागिएको हो । सभालाई महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने बताइएको छ ।
सभाअघि र्याली निकाल्ने योजना बनाएको नेकपाले काठमाडौं उपत्यका र वरपरका जिल्लाबाट १० देखि १५ हजारसम्म कार्यकर्ता सहभागी गराउने तयारी गरेको बताइएको छ ।
हालसम्म प्रदर्शन र सभास्थल भने टुंगो लागिसकेको छैन । जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त भएपछि अन्तिम स्थल निर्धारण गरिने बताइएको छ । बुढामगरले भने, “हाम्रो पहिलो प्राथमिकता खुलामञ्च हो, तर त्यहाँ सभा हुन नसक्ने अवस्थामा भृकुटीमण्डप, बसन्तपुर, रत्नपार्क वा टुँडिखेलमध्ये जहाँ अनुमति मिल्छ, त्यहीँ सभा गर्नेछौँ।”
यसअघि नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गर्दा गृह मन्त्रालयले अनुमति दिएको थिएन । विप्लव नेतृत्वको नेकपाको सभालाई के गर्छ भन्ने टुंगो लागेको छैन । सभाबारे औपचारिक जानकारी आएपछि निर्णय हुने एक अधिकारीले बताएका छन् ।
























