काठमाडौं । जेन–जी आन्दोलनपछि करिब डेढ महिनामा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आइतबार तेस्रो चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरेको छ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई मन्त्रीलाई शपथ ग्रहण गराएका छन्। डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, वर्तमान मन्त्रिपरिषद्का सदस्यलगायत उपस्थित थिए।
प्रधानमन्त्री कार्कीले सुरुमा चार जनाको नाम सिफारिस गरेकी थिइन्। तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि हटाइयो, भने गणपतिलाल श्रेष्ठको शपथ अन्तिम समयमा रोकियो।
नयाँ दुई मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अहिले १० सदस्यीय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, “केही महत्वपूर्ण मन्त्रालयमा अझै मन्त्री थपिने सम्भावना” रहेको छ, तर निर्वाचनसम्म यही टोलीले सरकार सञ्चालन गर्ने योजना रहेको बताइएको छ।

























