काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने भएको छ। सुरुमा चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिने तयारी भए पनि अन्तिम समयमा आएर दुई जनाको मात्र शपथ हुने भएको हो।
राष्ट्रपति कार्यालयका अनुसार, आज डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रूपमा शपथ लिने छन्।
तर, अन्य दुई सिफारिस भएका मन्त्री खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ स्थगित गरिएको छ।
बालुवाटार स्रोतका अनुसार, खगेन्द्र सुनारविरुद्ध विभिन्न आपराधिक अभियोग रहेका कारण प्रधानमन्त्रीले उनको नाम अन्तिम समयमा फिर्ता लिएको हुन्।
प्रहरी स्रोतले सुनार विगतमा वैदेशिक रोजगारीमा ठगी प्रकरणमा पक्राउ परी थुनामा बसेको पुष्टि गरेको छ। कांग्रेस पृष्ठभूमिका सुनार दैलेखबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। उनले २०७७ सालमा नारायण नगरपालिका–१ मा म्यानपावर कम्पनी खोलेर युवाहरू विदेश पठाउने कार्य सुरु गरे पनि व्यवसाय टिकेन र ठगीसम्बन्धी उजुरीहरू परेपछि पक्राउ परेका थिए।
त्यतिबेला उनको हत्कडी लगाएको फोटोसमेत प्रहरीले सार्वजनिक गरेको थियो। उनीमाथि ५ हजारदेखि १५ हजार रुपैयाँसम्म ठगेको आरोप लगाउने पीडितहरू अहिले उनी मन्त्री बन्ने खबरपछि रकम फिर्ता हुने आशामा रहेको बताइएको छ।
यस्तै, जिल्ला अदालत काभ्रेले २०८० असारमा पटके कसुरमा उनलाई १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो, जुन उनले अहिलेसम्म तिरेका छैनन्।
व्यक्तिगत जीवनमा पनि उनी विवादित रहेका छन्। स्रोतका अनुसार, उनकी पत्नी राष्ट्रिय अनुसन्धान विभागकी अधिकृत हुन्, तर उनीहरूबीच सम्बन्ध राम्रो छैन। सुनारले विगतमा विवाहित महिला र अन्य युवतीहरूसँग विवाहेत्तर सम्बन्ध राखेको, लिभ–इन रिलेसनमा बसेर पछि धोका दिएको र पैसा ठगेको आरोपसमेत रहेका छन्।
यसैबीच, गणपतिलाल श्रेष्ठको शपथ स्थगित भएको कारण भने सार्वजनिक गरिएको छैन। बालुवाटार स्रोतका अनुसार, श्रेष्ठले आफूले पर्यटन मन्त्रालय बाहेक अरू मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि उनको नाम रोकिएको हो।
प्रधानमन्त्री कार्कीले सुरुमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्, तर अन्तिममा भूमि मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गर्दा उनले असहमति जनाएका थिए।

























