काठमाडौं । जेन–जी आन्दोलनका क्रममा महाराजगञ्जमा दुई प्रहरीको हत्या घटनामा संलग्न थप पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, प्रहरीले घटनामा विभिन्न भूमिका खेलेका पाँच जनालाई खोजतलासपछि पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा— गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्।
उनीहरूलाई हाल थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापा प्रदर्शनकारीहरूको भीडले कुटपिट गर्दा मृत्यु भएको थियो। प्रदर्शनकारीहरूले उनीहरूलाई कार्यालयबाट तानेर भाटभटेनी सुपरस्टोरको पर्खाल नजिक लगेर कुटपिट गरेका थिए। अचेत भएपछि उनीहरूलाई मुख्य सडकको बीचमा घिसार्दै लगेका र त्यहीँ दोबारा कुटपिट हुँदा दुवैको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यसअघि नै सो घटनामा संलग्न रहेका युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम विक लाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

























