काठमाडौं । तिहार बिदापछि आइतबारदेखि खुलेको बजारमा सुनको मूल्य एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य घटेर प्रति तोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको हो । यसअघि कार्तिक ३ गते सुनको मूल्य २ लाख ५३ हजार ५०० रुपैयाँ प्रति तोला थियो ।
तिहारका कारण बजार बन्द रहेका बेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आए पनि सो परिवर्तन आजमात्र नेपाली बजारमा परिलक्षित भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रति तोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँ पुगेको छ। कार्तिक ३ गते चाँदीको मूल्य ३ हजार २८० रुपैयाँ प्रति तोला थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औँस ४ हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

























