काठमाडौं । जेनजी आन्दोलनका क्रममा साँखुस्थित प्रहरी प्रभागमा भएको आगजनी र प्रहरीमाथिको कुटपिट घटनामा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ मकवानपुरका हाल काठमाडौंको शंखरापुर नगरपालिका–७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ निवासी ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन्।
प्रहरीका अनुसार, उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
त्यस्तै, जेनजी आन्दोलनकै क्रममा लुटपाट भएको हतकडी र सोको चाबी सहित एक जना युवकलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौंको बालाजुमा बस्ने २९ वर्षीय साजन श्रेष्ठ हुन्।
श्रेष्ठलाई प्रहरीले कात्तिक ८ गते बेलुकी ७ बजे, गोकर्णेश्वर नगरपालिका–७, दक्षिण ढोका क्षेत्रमा पक्राउ गरेको हो। हाल उनलाई पनि थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको बताइएको छ।

























