काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । बालुवाटार स्रोतका अनुसार, आज मन्त्रिमण्डलमा चार जना नयाँ मन्त्री थपिने पक्का भएको छ।
स्रोतका अनुसार, गणपतिलाल श्रेष्ठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुधा गौतम – स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्री, खगेन्द्र सुनार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका छन् ।
पूर्वस्वास्थ्य सचिव सुधा गौतम स्वास्थ्य प्रशासनमा लामो अनुभव रहेको छ। उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।
बब्लु गुप्ता परोपकारी संस्था ‘१०० ग्रुप’ का संस्थापक हुन्, उनले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए ।
गणपतिलाल श्रेष्ठ लामो समयदेखि काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनमा सक्रिय व्यक्तित्व हुन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् ।
खगेन्द्र सुनार दलित अधिकारका प्रखर अभियन्ता हुन्। वैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए । खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, चारै मन्त्रीलाई आजै शपथ ग्रहण गराइने कार्यक्रम तय भएको छ। यी चार मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुने भएको छ।
यसअघि मन्त्रिमण्डलमा ८ सदस्य मात्र थिए,
– प्रधानमन्त्री सुशीला कार्की,
– अर्थमन्त्री रामेश्वर खनाल,
– ऊर्जा, जलस्रोत, सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ,
– गृहमन्त्री ओमप्रकाश अर्याल,
– उद्योग, वाणिज्य, आपूर्ति, कानुन, न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा,
– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन,
– कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार,
– सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल

























