काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरबारभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी सुरु गरिएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जेनजी आन्दोलनकारीले आगजनी गरी क्षति पुर्याएपछि र नयाँ संसद भवन अझै निर्माणाधीन भएकाले अस्थायी रूपमा कृषि समितिको हल प्रयोग गर्ने गृहकार्य भइरहेको हो ।
स्थायी सभा भनिने ५९ सदस्यीय राष्ट्रिय सभाको बैठक यसअघि पनि यही हलबाट सञ्चालन गरिएको थियो। पछि मात्र बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सारिएको थियो।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, “संघीय संसद भवन आगजनीका कारण प्रयोगयोग्य छैन। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन अझै तयार नभएकाले कृषि समितिको हल नै अहिलेको अवस्थामा सबैभन्दा उपयुक्त विकल्प देखिएको छ।”
उनका अनुसार, सिंहदरबारको पुरानो प्रतिनिधि सभा भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएकाले हाल त्यसको पुनर्निर्माण तथा प्रबलीकरण कार्य भइरहेको छ। त्यसैले राष्ट्रिय सभा बैठक सञ्चालनका लागि अन्य हलहरूभन्दा कृषि समितिको हल बढी उपयुक्त ठहरिएको हो।
गिरीले बताएअनुसार, राष्ट्रिय सभा बैठक सुरु भएपछि युट्युबमा लाइभ प्रसारण गर्नुपर्ने र दर्शकहरूका लागि पनि ठाउँ व्यवस्था गर्नुपर्ने भएकाले न्यून खर्चमा आवश्यक प्राविधिक तथा भौतिक पूर्वाधार कसरी तयार पार्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
“नयाँ संसद भवन तयार भएपछि बैठक त्यहाँ सारिने भएकाले अहिलेका लागि न्यून लगानीमै काम चलाउने तयारी भइरहेको छ,” उनले थपे ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरिएको थियो । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ। तर स्थायी सभा भनिने राष्ट्रिय सभा भने कायमै छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिक संघ (आईपीयू)को १५१औं महासभामा सहभागी हुन स्विटजरल्याण्डको जेनेभा प्रस्थान गर्नु अघि प्रधानमन्त्री सुशीला कार्कीसँग बैठक स्थलसम्बन्धी प्रारम्भिक छलफल गरेका थिए । अध्यक्ष दाहाल आज स्वदेश फर्किएपछि यस विषयमा थप परामर्श हुने उनको सचिवालयले जनाएको छ ।
























