काठमाडौं । नेकपा (एमाले) ले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आगजनी भएपछि डेढ महिनापछि अस्थायी पाल टाँगेर आफ्नो नियमित कामकाज पुनः सुरु गरेको छ।
भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीहरूले एमाले केन्द्रीय कार्यालयमा आगजनी गरेपछि अधिकांश कागजात, फर्निचर र संरचना जलेका थिए। त्यसपछिका दिनमा कार्यालयको सम्पूर्ण गतिविधि ठप्प भएको थियो।
शनिबारदेखि भने पार्टीले च्यासल परिसरमै पाल टाँगेर अस्थायी रूपमा कार्यालय सञ्चालन सुरु गरेको हो। पुनः सञ्चालनको औपचारिक सुरुवात उपमहासचिव विष्णु रिमाल, स्थायी समिति सदस्य भानुभक्त ढकाल र राजन भट्टराईलगायत नेताहरूको उपस्थितिमा गरिएको थियो।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा एमाले मात्र नभई अन्य प्रमुख दलका कार्यालय, शीर्ष नेताहरूका निजी आवास, सरकारी कार्यालय तथा केही व्यावसायिक प्रतिष्ठान पनि तोडफोड र आगजनीको निशानामा परेका थिए।
पार्टीले भने नयाँ भवन पुनर्निर्माणको योजना अघि बढाइरहेको जनाएको छ। हालका लागि अस्थायी पालमुनि नियमित कामकाज सञ्चालन गरिने बताइएको छ।
नेताहरूले आगजनी र ध्वंसले पार्टीको राजनीतिक प्रतिबद्धता कमजोर पार्न नसक्ने उल्लेख गर्दै, “एमाले खरानीको थुप्रोबाट फेरि उठ्नेछ” भन्ने दृढता व्यक्त गरेका छन् ।

























