काठमाडौं । जेनजी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
शनिवार माईतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेन-जी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन् ।
शनिवार अपरान्ह उनीहरुले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकतावद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेन-जी प्रतिनिधि मञ्जना राईले बताइन् । उनले जेनजीले बनाएको सरकारले उनीहरुको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन् ।
जेन-जी प्रतिनिधिहरुले सरकारले आफूहरुमाथि दमन गरेको भन्दै सैह्य नहुने चेतावनी समेत दिएका छन् । भोजपुरका जेन-जी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे ।
जेन-जी आन्दोलनले बनाएको सरकारले उनीहरुमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाई थियो । उनले आफूहरुको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताए ।

























