रुपन्देही । बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगको विद्युत् आपूर्ति नेपाल विद्युत् प्राधिकरणले शुक्रबार साँझदेखि काटिदिएको छ। यी उद्योग वर्षौंदेखि ट्रंकलाइन महसुल विवादमा रहेका थिए।
लाइन काटिएका उद्योगमा पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल उद्योग, घराना फुड्स, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योग छन्।
उद्योगीहरूका अनुसार उहाँहरूले ट्रंकलाइनमार्फत विद्युत् माग नै नगरेक ोर कुनै सहमति पनि नभएका कारण प्रिमियम दरमा महसुल तिर्न अस्वीकार गर्दै आउनुभएको थियो । चार वर्षसम्म कुनै अतिरिक्त बिल नआएपछि अचानक ६७ प्रतिशत बढी दरमा बक्यौता पठाइएको उद्योगीको गुनासो छ ।
उद्योगीहरूले ट्रंकलाइन माग र खपतको प्रमाण देखाउन प्राधिकरणलाई चुनौती दिनुभएको छ । उहाँहरु भन्नुहुन्छ— प्राधिकरणको आन्तरिक लोड व्यवस्थापनकै कारण उद्योगहरू ट्रंकलाइनमा परेका हुन्, त्यसैले उच्च दर लागू गर्नु अन्याय हो।
२०७५ मा गठित पुनरावलोकन समितिले यी उद्योगलाई सामान्य दरमै महसुल लिनुपर्ने राय दिएको थियो, तर हाल ऊर्जामन्त्री बनेका कुलमान घिसिङको नेतृत्वमा सो समिति बदर गरिएको हो।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यका अनुसार यस्तो निर्णयले करिडोरका डेढ दर्जन उद्योग जोखिममा पर्ने, २०–२५ हजार श्रमिक बेरोजगार हुने र बैंक तथा अर्थतन्त्रमा गम्भीर असर पर्ने खतरा छ ।

























