काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे पौडेलको मृत्यु भएको हो ।
यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेको र उनीविरुद्ध कुनै जाहेरी नआएको परिसरका एसपी भट्टराईले बताएका छन् ।
गायक गिरीसँग प्रेम सम्वन्धमा रहेको र विवाद पछि उनले आत्मदाह प्रयास गरेको चर्चा सर्वत्र छ ।

























