काठमाडौँ । गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै थिइन्। माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उनलाई के थाहा? तर भइदियो त्यस्तै।
सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ। एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्नका लागि बाहिर निस्किएकी थिइन्। हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो। कताकताबाट आएको पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो। उनलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्याइयो। त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) लगियो।
अहिले पनि उनी केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत छिन्। उनको शरीरको १८ प्रतिशत भाग जलेको छ। कम्मरमुनि र दायाँ हातमा बढी असर छ।

























