काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सर्वदलीय बैठकमा सरकारका चार मन्त्रीसहित ११ राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका छन् ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार सहभागी भएका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि बैठकमा उपस्थित छन् ।
बैठकमा नेपाली कांग्रेसका गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा (एमाले) का शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका वर्षमान पुन र पम्फा भुसाल सहभागी छन् ।
त्यसैगरी, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीका नेता चन्दन सिंह सहभागी भएका छन् ।
छलफलमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकको रूपमा उपस्थित भएका छन् ।
बैठकमा आसन्न निर्वाचन, राष्ट्रिय सहमति निर्माण र वर्तमान राजनीतिक अवस्थाबारे व्यापक छलफल भइरहेको स्रोतले जनाएको छ।

























