काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस नगरेको दावी गरेका छन् । उनले प्रमाण भए सार्वजनिक गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।
आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलमा ओलीले भने, “मैले त्यो भाषामा सिफारिस गरेको थिएँ, परेको बेलामा प्रति निस्कन्छ । यदि मैले कतै कार्कीजीलाई सिफारिस गरेको छु भने प्रमाण देखाइदिनुस् । प्रचण्डजीसँग छ भने निकाल्नुस् ।”
यो प्रतिक्रिया प्रचण्डले गरेको पछिल्लो दाबीपछि आएको हो । प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको पत्र आफैंले पढेको बताएका थिए ।
यद्यपि, ओलीले आफूले देशमा उत्पन्न असहज परिस्थितिमा राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि सिफारिस गरेको स्वीकार गरेका छन् । उनले आफूले राष्ट्रपतिसमक्ष पठाएको पत्रको सारांश पनि सुनाए –
“वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर, संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले र यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधान भित्रबाटै अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।”
























