काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुनः माग गरेका छन् ।
सम्पादकहरुसँगको सम्वादका क्रममा अध्यक्ष ओलीले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई पटकपटक आह्वान गरेको भन्दै पत्रकार महासंघ वा सम्पादक मण्डलले गरे पनि हुने बताएका हुन् ।
सम्पत्ति छानविन गर्दा आफ्नो घरको डढेको खरानीको कणकणले हिसाव गर्नुपर्ने उनले बताए । किनकि अरु सम्पत्ति आफ्नो नभएको उनले स्पष्ट पारे ।
सरकारले खाता रोक्का गर्न गरेको निर्णयप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘खाता रोक्का गर्ने भनेको पनि सुन्छु । मैले सांसद् र प्रधानमन्त्रीका हैसियतले पाएको अहिलेसम्मको जम्मा गरेर २०, २५ लाख रुपैयाँ खातामा होला, त्यो त एकछिनमा हिसाव गरे थाहा हुन्छ । बैंकले हिसाव दिइहाल्छ । विश्वभरीका सरकारलाई सूचना जारी गरेर ओलीको सम्पत्ति पठाइदेउ भने भो, होला नि उपायहहरू त ।’
आफू आक्रोश र आवेगमा भन्दा सत्य स्थापना होस् भनेर भनिरहेको बताँदै अध्यक्ष ओलीले भने ‘मैले पनि माग गरेको छु, केन्द्रीय कमिटीको बैठकले पनि सम्पत्ति छानबिनको माग गरेको छ, म त भन्छु बिचौलिया, ब्ल्याकमेलरको पनि गरौं । अरुको पनि गरौं, सबैको गरौं । देश मेरो मात्र होइन, सदाचार नै चाहिएको हो भने शंका लागेका सबैको गरे भो नि ।’
























