कैलाली । कैलालीको लम्कीचुवा नगरपालिका अन्तर्गत धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा बर्दगोरिया–४ निवासी ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
घाइते भएका नौ जनाको उद्धार स्थानीयवासी र प्रहरीको सहयोगमा गरी लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका लागि पठाइएको छ । उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भएर खोलामा पल्टिँदा दुर्घटना भएको हो । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

























