सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ स्थित काचनको रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ ।
७३ वर्षीय पुजारी रामदुलार साहलाई आज बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको उनका आफन्त रामसुन्दर साहले जानकारी दिए ।
पुजारी साह मन्दिरको पूर्वतर्फ रहेको कुटीमा एक्लै बस्दै आएका थिए । स्थानीयका अनुसार अज्ञात व्यक्तिहरूले उनलाई कुटीबाट बाहिर निकालेर सडकमा पिठ्युँमा गोली हानेका थिए ।
घटनाको खबर पाएलगत्तै स्थानीयले नजिकैको काचन प्रहरी चौकीलाई जानकारी दिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट आएको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । घटनास्थलबाट गोलीका दुईवटा खोका बरामद भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि पुजारी साहको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । साथै, सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि निगरानी र जाँच कडाइका साथ जारी राखिएको प्रहरीले जनाएको छ ।

























