काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनलाई आपराधिक मानसिकता भएका व्यक्तिहरूले हिंसात्मक बनाएको बताएका छन् ।
७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको नाममा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको बताए ।
“आन्दोलनको आडमा आपराधिक सोच भएका समूहले नेपाल सरकारका महत्त्वपूर्ण संस्थानहरू, व्यापारिक प्रतिष्ठानहरू, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू र सर्वसाधारणको निजी सम्पत्तिसमेतमा क्षति पुर्याए,” मन्त्री अर्यालले भने, “यसले आन्दोलनलाई हिंसात्मक बनायो ।”
उनका अनुसार सयौं प्रहरी कार्यालयमा आगजनी भएको, सवारी साधन तोडफोड गरिएको, हातहतियार तथा सुरक्षा उपकरण लुटिएको र प्रहरीमाथि शारीरिक आक्रमणसम्म भएका छन् ।
तर उनले नेपाल प्रहरीलाई नागरिक भावना अनुसार क्रियाशील संस्था भएको भन्दै नागरिकको सहयोगमा अहिले ती क्षतिग्रस्त संरचनाहरू मर्मत तथा पुनर्स्थापना हुँदै गएको उल्लेख गरे ।
“प्रहरी नागरिकको स्पन्दनमा बसेको संस्था हो भन्ने तथ्य नागरिक स्वयंको सहभागिताबाट भएको मर्मत तथा पुनर्निर्माणले प्रमाणित गर्छ,” गृहमन्त्री अर्यालले थपे ।

























