काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बीमा दाबीको करिब दुई अर्ब रुपियाँ भुक्तानी भइसकेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म तीन हजार १६३ वटा बीमा दाबी दर्ता भई जम्मा २५ अर्ब १४ करोड ८३ लाख रुपियाँ बराबरको दाबी आएको छ। जसमध्ये एक अर्ब ९५ करोड ४७ लाख रुपियाँ भुक्तानी भइसकेको छ।
सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ अर्ब १९ करोड ३६ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
बीमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बीमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
यस्तै सङ्ख्याका आधारमा धेरै मोटर बीमाबापतको भुक्तानी भएको छ। सम्पत्ति बीमामा ६७३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ५५ करोड १७ लाख रुपियाँ भुक्तानी भइसकेको छ। सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब ७१ लाख रुपियाँ दाबी परेको थियो।
मोटर बीमामा दुई हजार २५६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब ३६ करोड २५ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
मोटर बीमा अन्तर्गत तीन अर्ब ४४ करोड ९५ लाख रुपियाँ दाबी परेको थियो । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा १८२ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब तीन करोड ८१ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ। यस अन्तर्गत तीन ३३ करोड १८ लाख रुपियाँ दाबी परेको थियो।
यस्तै अन्य बीमा शीर्षकमा ४० वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानी समेत गरी २२ लाख दाबी भुक्तानी भएको छ भने यस अन्तर्गत ३८ करोड ८६ लाख रुपियाँ दाबी परेको थियो।
परिवहन बीमा शीर्षकमा १२ वटा दाबी परेकोमा हालसम्म भुक्तानी भएको छैन भने यस अन्तर्गत एक करोड ६३ लाख रुपियाँ दाबी परेको थियो।
























