काठमाडौँ । महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित मधेश प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । आरोपपत्रअनुसार सांसद सिंहले संसदीय विकास कोषको रकम विभिन्न उपभोक्ता समितिहरूको नाममा पारेर त्यसमा जम्मा भएको रकम आफ्ना स्वकीय सचिवमार्फत झिकाई निजी खातामा स्थानान्तरण गरेका थिए ।
उक्त रकम सिंहले आफ्नै र श्रीमतीको संयुक्त खातामा जम्मा गराएको, र केही रकम सचिव विनोदकुमार लाल कायस्थको खातामा पनि सारिएको अख्तियारको दाबी छ।
कहाँ–कहाँ भ्रष्टाचार
आर्थिक वर्ष २०७८/७९ मा प्रदेश संसदीय विकास कोषबाट महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका, र सम्सी गाउँपालिकाका विभिन्न वडामा विनियोजित रकममा अनियमितता भएको पाइएको छ।
विशेषगरी देबी महारानी सौन्दर्यकरण, मन्दिर निर्माण, सडक स्तरोन्नति, कम्पाउन्ड वाल निर्माण, धर्मशाला निर्माणजस्ता योजना सञ्चालन गर्ने उपभोक्ता समितिहरूमार्फत रकम हिनामिना भएको उल्लेख छ।
साविकको लक्ष्मी बैंक (हाल लक्ष्मी सनराइज बैंक) मा उपभोक्ता समितिका नाममा जम्मा भएको कुल १ करोड ३६ लाख २७ हजार ४८१ रुपैयाँ मध्ये ३८ लाख ५० हजार ३१९ रुपैयाँ सांसद सिंहले आफ्नो नियन्त्रणमा लिएको आयोगको दाबी छ।
प्रतिवादी को-को ?
सांसद सिंहसँगै निम्न १५ जनालाई पनि प्रतिवादी बनाइएको छ:
- विनोद कुमार लाल कायस्थ (स्वकीय सचिव)
- रमेश मडर
- अमलेश कुमारी
- दिपाराज देवी राजपुत
- भिखारी राउत कुर्मी
- भुपेन्द्र कुमार झा
- मन्जु देवी पासमान
- रामनाथ सहनी
- स्वीकृती (स्विकृती) देवी
- रामशरण खत्वे
- बिभा देवी खत्वे
- शम्भु कुमार मण्डल
- योगेन्द्र महतो
- सुनयना कुमारी
- यमुना प्रसाद महतो
- कौशिल्या देवी
उनीहरू सबैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत मुद्दा दायर गरिएको छ।

























