काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा उनलाई आयोगको टोलीले पक्राउ गरेको हो । आयोग स्रोतका अनुसार, सिंहले कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफूले लिएको आरोप छ ।
पूर्वगृहराज्यमन्त्रीसमेत रहेका सिंह यसअघि पनि पक्राउ परेका थिए तर तारेखमा रिहा भएका थिए । यसपटक भने विशेष अदालतमा मुद्दा दर्ता गर्नेसहितको प्रक्रियाका लागि उनलाई पुनः नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
महोत्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य रहेका सिंहको निवासमा आयोगले गत जेठ १२ गते छापा मारेको थियो। सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पनि पक्राउ परेका थिए ।
छानबिनको क्रममा आयोगले विभिन्न योजनासम्बन्धी कागजातहरू बरामद गरेको थियो भने उनका मोबाइल उपकरणहरू डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो ।
सिंह यसअघि २० जेठमा काठमाडौंको अनामनगर क्षेत्रबाट पनि पक्राउ परेका थिए ।

























