काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन आज बिहान ८ बजेबाट सुरु भएको छ । आजको बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी छ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए भने आज करिब १०० जनाको हाराहारीमा धारणा राख्ने अनुमान गरिएको छ ।
बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा स्वतः माइक काटिने व्यवस्था गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रम अनुसार अन्तिम (ज्ञ) बाट पालो मिलाइएको छ । सबै केन्द्रीय सदस्यहरूले तीन मिनेटकै दरले बोल्ने हो भने बैठकको समय लम्बिने देखिएको छ ।
बैठकको उद्घाटनका गर्दै अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्नेछन् भने वैठकको अन्त्यमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुबाट आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने बताइएको छ ।
























