काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक र अन्य विविध विषयमा छलफल केन्द्रित गरिएको छ ।
तर, बैठकमा महामन्त्री डा. धवलशम्शेर राणा र कुन्ती शाही सहभागी भएका छैनन्। उनीहरूले अध्यक्ष राजेन्द्र लिङदेनलाई चार बुँदे मागसहित पत्र पठाउँदै बैठक बहिष्कारको जानकारी गराएका हुन्।
महामन्त्रीद्वयले अध्यक्ष लिङदेनमाथि एकलौटी निर्णय लिँदै पार्टीभित्र अन्य नेताको अस्तित्व समाप्त पार्ने प्रवृत्ति देखिएको आरोप लगाएका छन्।
पत्रमा भनिएको छ, “अध्यक्षबाहेक अरुको अस्तित्व नरहने स्थिति निर्माण गरिएको छ। विधानको खुलेआम उल्लंघन गर्दै केन्द्रीय सदस्य थप, विभागहरू निस्क्रिय, र पार्टी नेताहरूलाई बिना प्रक्रिया निष्कासन गरिँदै आएको छ।”
उनीहरूले पार्टीका वरिष्ठ उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई फेसबुकमार्फत सूचना दिई अपमानजनक ढंगमा निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन्।
पत्रमा हाल राप्रपाको राजनीतिक प्रभाव र जनसम्पर्क कमजोर हुँदै गएको उल्लेख गरिएको छ। “जेनजी पुस्ताको आन्दोलनजस्ता ठूला राजनीतिक घटनामा राप्रपा नदेखिनु चिन्ताको विषय हो,” पत्रमा भनिएको छ।
चार बुँदे माग
महामन्त्रीद्वयले पार्टीभित्र आन्तरिक एकता र सहकार्य कायम गर्न निम्न चार प्रस्ताव अघि सारेका छन्:
१_ विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न महाधिवेशनको मिति तोक्ने ।
२_ विधानविपरित भएका निष्कासन र कारवाही सम्बन्धी निर्णयहरु फिर्ता गर्ने।
३_ निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने ।
४_ प्रभावकारी पार्टी संचालनका निम्ति दुई पूर्वअध्यक्षहरु सहितको विवाद समाधान समिति गठन गर्ने ।
उनीहरूले पूर्वअध्यक्षहरूको सहभागितामा समस्याको समाधान खोज्न प्रयास गरे पनि त्यसलाई अध्यक्षले कमजोरीको रूपमा बुझेको गुनासो गरेका छन्।

























