
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्रत्याशित रूपमा प्रतिक्रान्ति र बर्बादीको दिशातर्फ धकेलिएको बताएका छन् । बुधबार शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले देशलाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, भ्रष्टाचारमुक्त र विकासोन्मुख बाटोमा फिर्ता ल्याउन प्रभावकारी कदम चाल्नुपर्ने जोड दिएका छन् ।
उनले भने, “देश बर्बादीतर्फ धकेलिएको छ, यसलाई हामीले छिटोभन्दा छिटो सुधार्नुपर्छ ।” उनले एमालेलाई कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको उल्लेख गर्दै पार्टीको नीतिमाथि भइरहेको प्रहारप्रति पनि औंल्याए ।
सरकारले चुनावको बाटो समातेको छैन
ओलीले मुलुकमा हाल निर्वाचनको अवस्था नरहेको बताएका छन् । उनले भने, “आजको प्रतिगमनको स्थिति बुझ्नुपर्छ, चुनाव हुने छैन । सरकारले चुनाव गराउने बाटो समातेको छैन ।”
उनले वर्तमान सरकारलाई असंवैधानिक समेत ठहर गर्दै भने, “यो सरकार संविधानसम्मत छैन, अबैध छ । पूर्वप्रधानन्यायाधीशको कार्यक्षेत्र संविधानमा निर्दिष्ट छैन, तर आफू निर्णय गरेर आफू प्रधानमन्त्री बन्नु संविधानको उल्लंघन हो ।”
अध्यक्ष ओलीले मुलुकमा भएको प्रतिगमन सच्याउन सबै पक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले विगतमा पार्टीबाट छुटेर गएकाहरुलाई फर्किन आव्हान गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुलाई अन्य पार्टीसँग टाँसिन, ओत लाग्न नखोज्न आग्रह गर्दै आफैले निर्माण गरेको मजवुत घरमा फर्किन आग्रह गरेका छन् ।
























