काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सधैंका लागि सरकारबाट हट्ने भ्रम नपाले राम्रो हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कमजोर नभएको दाबी गरे ।
ओलीले भने, “एमाले राजनीतिक र आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो । सरकारमा हुँदा र नहुँदा के हुने हो भन्ने विषयमा अहिले विश्व बैंकले समेत रिपोर्ट जारी गरेको छ, जसमा आर्थिक वृद्धिदर घट्ने देखाएको छ ।”
उनले थपे, “हामीले देशको स्वाभिमान कायम राख्न र दिगो विकासका लक्ष्यहरूतर्फ काम गरिरहेका छौं । अर्को वर्ष नेपाललाई अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा लैजाने अनुकूल स्थिति सिर्जना गरिसकेका छौं ।”
अध्यक्ष ओलीले आफ्नो पार्टीका नीतिहरू राम्रा भएर नै निसानामा परेको दाबी गरेका छन् । ‘अरुभन्दा हामी धेरै निशानामा परेका छौं,’ ओलीले भने, ‘हाम्रा नीति राम्रा भएरै हामीमाथि धेरै प्रहार भइरहेको छ। नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरताको वैचारिक र व्यवहारिकताको अगुवाई गरेका छौं। नेपालको सुशासन, सुव्यवस्था र स्थिरताको आन्दोलन र जबज प्रतिपादन हुनुभन्दा अगाडि र पछि हामी अघि बरिहेको अवस्थामा हामीले प्रभावकारी भूमिका खेलेका छौं। यी धेरै कुराहरु मन नपराउने शक्तिहरु छन् । राष्ट्रले शीर उठाएको मन नपाएका शक्तिहरु छन् । अरुले राष्ट्रहितमा बोल्नुनपर्ने एमालेमात्रै किन बोल्नुपर्ने शक्तिहरु पनि छन्। राष्ट्रिय हित र न्यायको पक्षमा छौं । यसर्थ हाम्रो राष्ट्रिय दृष्टिकोण राष्ट्रको हितमा र राष्ट्रिय सार्वभौकताको अडान लिएका छौं ।’
पार्टीभित्र एकमना एकता कहिल्यै थिएन
ओलीले एमालेमा कहिल्यै पूर्ण एकता नहुँदा पार्टीभित्र सदैव इर्ष्या, प्रतिस्पर्धा र खुट्टा तान्ने प्रवृत्ति रहेको बताएका छन्।
उनले भने, “मेरो नेतृत्वको सरकारलाई असफल बनाउन पार्टीभित्रैबाट विरोध, झूठ र फरेब हुने क्रम निरन्तर जारी थियो। संविधान जारी भएपछिको चुनावबाट बनेको नेकपा सरकारलाई पनि पार्टीभित्रैबाट असफल पारिएको छ।”
जेनजी आन्दोलनपछि प्रधानमन्त्री पद त्याग गर्न बाध्य भएका ओलीले आफू नेतृत्वको सरकारले देशका लागि दूरगामी ऐतिहासिक कामहरू गरेको र त्यसपछि मात्र सरकार ढाल्ने काम भएको बताए।
























