जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् । कांग्रेस–एमाले वाहेकका पाँच दलका ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन् ।
मङ्गलबार सतिश कुमार सिंहले पदबाट राजिनामा घोषणा गरेसँगै मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोसपाको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीचको छलफलमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेताहरुले बताएका छन् ।
मन्त्रालयको भागबण्डा र मन्त्रीको नाम टुङ्ग्याउन बाँकी रहेको बताइएको छ ।
























