काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सिंहदरबारस्थित उनको कार्यकक्षमा सर्वदलीय बैठक सुरु भएको छ । विघटित प्रतिनिधि सभा पुनर्स्थापना सम्बन्धमा दलहरूको धारणा लिन सभामुखले बैठक आयोजना गरेका हुन् ।
सभामुखले संसद् विघटनबारे अदालत जाने कि नजाने भन्ने विषयमा राजनीतिक दलहरूको सुझाव मागेका छन् । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका प्रतिनिधिहरू अर्थात तत्कालीन प्रमुख सचेतक सहभागी छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अनुपस्थित छ ।
छलफलमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका श्याम घिमिरे,एमालेका महेश बर्तौला,माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका ज्ञानेन्द्र शाही,नेकपा एसका राजेन्द्र पाण्डे,जसपाकी रेखा यादवलगायत सहभागी छन् ।
रास्वपाका नेता सन्तोष परियारले बिहान ११ बजे सचिवालय बैठक तय भएकाले सभामुखको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका छन् । उनका अनुसार, पार्टीले संसद् पुनर्स्थापनाको मागमा अघि नबढ्ने निर्णय पहिल्यै गरिसकेको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, पार्टी चुनावको तयारीमा जुटिसकेको छ । ७ असोजको केन्द्रीय समितिको बैठकले २१ फागुनको चुनावका लागि बाचा पत्र बनाउने निर्णय गर्दै डा. स्वर्णिम वाग्ले नेतृत्वमा बाचा पत्र लेखन समिति गठन गरिसकेको छ।
सभामुखले सर्वदलीय छलफलपछि पूर्वमहान्याधिवक्ता, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छुट्टाछुट्टै परामर्श गर्ने तयारी गरेका छन्। अदालत जानुपर्ने वा नपर्ने भन्नेबारे ती निकायहरूसँग पनि सुझाव लिएर निर्णय गर्ने उनको योजना छ ।

























