काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बस्ने बैठक तीन दिनसम्म चल्ने छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । अध्यक्ष ओलीको प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायत समसामयिक विषय समेटिएका ओली निकट नेताहरुले बताएका छन् ।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै लोकतन्त्र पुनर्बहालीका लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिइएको बुझिएको छ ।
त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरुसँग सहकार्य र जनपरिचालन गर्नुपर्ने विषयलाई पनि ओलीले प्राथमिकताका साथ उल्लेख गरेको र प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने विश्वास गरेका छन् ।
युवा संघको पहरा र स्कर्टिङ
बैठक स्थलमा राष्ट्रिय युवा संघ नेपालको विशेष सुरक्षादस्ता परिचालित हुने भएको छ भने मुख्य मुख्य नेतालाई मोटरसाइकल र गाडीले स्कर्टिङ गर्दै बैठकस्थलमा लगिने संघका उपाध्यक्ष विनय शाहले बताएका छन् ।
मंगलबार बेलुकी बैठकस्थलमै बसेको संघको बैठकको निर्णय अनुसार बैठकस्थल रामबाग महलमा १०० जनाको विशेष सुरक्षादस्ताले पहरा दिने छ । नेताहरूको स्कर्टिङका लागि त्यति नै संख्यामा मोटरसाइकल र ५० वटा चारपांग्रे (कार–जिप) तयार पारिएको छ ।
प्रहरीले बैठक र विभिन्न सभा, समारोहका क्रममा मुख्य राजनीतिक दललाई झण्डा, व्यानरसहित कुनै किसिमको सार्वजनिक गतिविधि नगर्न अनुरोध गरेको छ । सुरक्षा संवेदनशीलताका दृष्टिले त्यस्तो अनुरोध गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताएका छन् । मंगलबार नेपाली कांग्रेसले सानेपा, आज एमालेले भनिमण्डल र माओवादीले महालक्ष्मीस्थानमा आफ्ना भेला, बैठक गर्ने गरेको छ । आज हुने एमाले बैठकको सुरक्षाका निम्ति प्रहरीले १५० जनशक्ति परिचालन गर्ने एसएसपी बोगटीले बताएका छन् ।
एमाले कार्यकर्ताले नेताहरूको स्कर्टिङ गर्ने क्रममा व्यानर, झण्डाको प्रदर्शन र नारा लगाउने कार्य नगर्न अनुरोध गरिएको वताउँदै उनले भने “हिजो कांग्रेसलाई पनि त्यसै भनेका थियौं, आज एमालेलाई पनि त्यही भनेका छौं ।”
बोल्ने पालो ‘ज्ञ’ बाट शुरू
अध्यक्ष ओलीले बैठकमा प्रस्ताव पेश गरेपछि त्यसउपर बोल्न चाहनेलाई वर्णानुक्रम (अल्फाबेटिक अर्डर) का आधारमा उल्टोबाट अर्थात् ‘ज्ञ’ बाट नाम आउनेदेखि बोल्ने पालो दिइने भएको छ ।
बैठक चल्ने तीनै दिन बैठकस्थलमा दिउँसोको खाजा र पानीबाहेक अन्य खानपिन, वसोवासको व्यवस्था नभएको केन्द्रीय कार्यालयले जनाएको छ ।
























