काठमाडौं । आजदेखि सुरु हुने केन्द्रीय समिति वैठक अघि वैठकमा पेस गर्ने एजेन्डाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ ।
मंगलबार बिहान सभापति देउवासँग भएको छलफलमा केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे सहमति जुट्न नसकेको एक नेताले जानकारी दिए । नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने अडानमा दुई महामन्त्री थिए । तर सभापति देउवाले सल्लाह गर्ने भन्दै कुनै ठोस जवाफ नदिएको बुझिएको छ ।
तीन नेताको छलफलमा सहमति हुन नसक्दा आजै बिहान ११ बजे बस्ने भनिएको कार्य सम्पादन समितिको बैठक अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।
एक नेताका अनुसार केन्द्रीय समिति बैठकमा सभापति देउवाले आफ्नो वक्तव्य पढ्ने कार्यक्रम छ ।
बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेका कारण आजको बैठक स्थगित गरेर साझा एजेन्डा तय गर्न नेताहरू अनौपचारिक छलफलमा जुटेको बुझिएको छ ।

























