रौतहट । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिईएको छ ।
नेकपा एमाले निकटका युवा संघका केन्द्रीय सदस्य बजरंगी गुप्ताको नेतृत्वमा संघमा आबद्ध युवाहरु सोमबार प्रहरी कार्यालय पुगेर मेयर बालेन र गुरुङलाई कार्यवाहीको मांग गर्दै उजुरी दिएको हो ।
उजुरी बजरंगी गुप्ता र जिल्ला इन्चार्ज सन्तोष कुमार साहले संयुक्त रूपमा दिनुभएको हो ।
भाद्र २३–२४ गतेको जेनजी आन्दोलनको क्रममा बालेन शाह र सुदन गुरुङले भिडलाई उक्साएर रौतहटसहित देशभरिका विभिन्न सरकारी तथा निजी कार्यालय, घर र सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गराएको उजुरीमा आरोप लगाइएको छ ।
उजुरीकर्ता युवाहरुले मुलुकी फौजदारी संहिता २०७४ को दफा २८५ (२) बमोजिमको कारबाहीको माग गरेका छन्।
यसअघि युवा संघका सदस्यहरूले गौरमा मोटरसाइकल र्यालीसमेत निकालेको थियो ।
अदृश्य शक्तिको आडमा देशभर हिंसा, तोडफोड र हत्या मच्चाउने व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गर्नु पर्ने आवश्यक रहेको युवा संघका केन्द्रीय सदस्य बजरंगी गुप्ताले बताउनु भयो ।
जेनजी विद्रोहको समयमा रौतहटमा पनि सरकारी कार्यालय र व्यक्तिगत घरहरुमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो ।
























