काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको जानकारी दिएका छन्। आरोपपत्रमा महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको छ।
मंगलबारदेखि थुनछेक बहस सुरु हुँदैछ, जसको आधारमा अदालतले महरालाई धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने भन्ने निर्णय गर्नेछ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले महरालाई आइतबार पक्राउ गरेको थियो। उनलाई विद्युतीय चुरोट ९भेप०मा लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ गरिएको हो।
२०७९ पुस १० गते फ्लाई दुबईको उडान (एफजेट ०५८७) मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो। चेकजाँचमा भेप भेटिएपछि विमानस्थल भन्सारले ती सामग्री नियन्त्रणमा लिएको थियो। लि हानसोङ भने भोलिपल्टै नेपाल छाडेका थिए, तर भेप लामो समय भन्सारमै थन्किएको थियो।
पछिल्लो अनुसन्धानमा भेपमा लुकाइएको करिब ९ किलो सुन तस्करी भएको पुष्टि भएपछि भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध पहिलो चरणमा मुद्दा दायर गरिएको थियो।
पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, महराका छोरा राहुल महरा, तथा नीमा गुरुङलाई मतियारका रूपमा मुद्दामा समावेश गरिएको छ। महरा स्वयंमाथि अनुसन्धान चलिरहेको फाइलमा संलग्नता देखिएपछि केही दिनअघि उनलाई बयानका लागि बोलाइएको थियो।
यसै सिलसिलामा प्रहरीले उनलाई नियन्त्रणमा लिई मुद्दा अगाडि बढाएको हो। अब अदालतको आदेशपछि उनको आगामी कानुनी अवस्थाको टुंगो लाग्नेछ।
























