काठमाडौं । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकमा जमेको खाल्डोको पानीमा डुबेर तीन किशोरीको ज्यान गएको छ।
राजदेवी नगरपालिका–८, लक्ष्मीपुरबाट घाँस काट्न निस्किएका १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेका हुन्।
भारी वर्षाका कारण बनेको पानी जमेको खाल्डोमा परेर उनीहरू बेपत्ता भएका थिए। सोमबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले रबर बोटको सहयोगमा स्थानीय बासिन्दासँग मिलेर शव फेला पारेको हो।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको टोलीले घटनास्थलमा खोज तथा उद्धार कार्य गरेको थियो।
उक्त समूहमा घाँस काट्न गएका अन्य चार किशोरीहरू १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिता कुमारी बैठालाई भने स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।























