काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरिएको प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ।
यसअघि सोही प्रकरणमा माओवादी केन्द्रकै अर्का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ। महरामाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पूर्वउपराष्ट्रपति पुनका परिवार र सचिवालयका सदस्यहरू समेत संलग्न देखिएका छन् ।
दुई वर्षअघि पुनका जेठा छोरा जितेन्द्र पुनले शक्तिको दुरुपयोग गरी हुम्लावासी भएको नक्कली कागजात बनाइ गृह मन्त्रालयबाट सीमा वारपार गर्ने परिचयपत्र निकालेका थिए । त्यसपछि ताक्लाकोट पुगेर चिनियाँ समूहसँग ‘तमसुक’ (लेनदेन सम्झौता) गरेर चार किलो सुन बुझेको समाचार सार्वजनिक भएको थियो । सो सुनको सावाँ–ब्याज नतिर्दा विवाद सतहमा आएको बताइएको छ। हाल जितेन्द्र पुन अमेरिका बसोबास गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।
कान्छा छोरा दीपेश पुन पनि तस्करीमा संलग्न
पुनका कान्छा छोरा दीपेश पुनमाथि पनि सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप छ। प्रहरीका अनुसार २०७९ सालमा भेपमा लुकाइएको करिब ९ किलो र २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करीमा दीपेशको संलग्नता देखिएको छ। उक्त प्रकरणमा गठित जाँचबुझ आयोगले पनि दीपेशमाथि थप अनुसन्धान गर्न सुझाव दिएको थियो ।
दीपेश यसअघि सहकारी ठगी प्रकरणमा पक्राउ परे पनि हाजिरी जमानीमा छुटेका थिए । हाल उनी भारतमा रहेको बताइएको छ ।
त्यस्तै पुनको उपराष्ट्रपति कार्यकालमा वैदेशिक मामिला विज्ञका रूपमा नियुक्त जीवनकुमार गुरुङ २०८० साल फागुनमा सुन तस्करी प्रकरणमा पक्राउ परेपछि धरौटीमा छुटेका थिए । यस्तै, पुनकी आफन्त अमला रोका पनि उक्त प्रकरणमा संलग्न देखिएकी थिइन्। ठमेलमा ‘होटल भियना’ सञ्चालन गर्ने रोका यस वर्ष असारमा दुई लाख धरौटीमा रिहा भएकी हुन् ।
छोराहरू, सचिवालय सदस्य र आफन्तहरूको संलग्नताका साथै पुनको चिनियाँ समूहसँगको शंकास्पद सम्बन्धको आधारमा नेपाल प्रहरीले पूर्वउपराष्ट्रपति पुनमाथि औपचारिक अनुसन्धान सुरु गरेको हो ।

























