काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा विद्यालय भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार माधव नारायण नगरपालिका–३, सखुअर्वामा निर्माणाधीन देवी माध्यमिक विद्यालयको भवन निर्माणको ठेक्का प्रक्रिया गैरकानुनी तरिकाले सम्पन्न गरिएको पाइएको हो ।
मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णलाई प्रतिवादी बनाइएको छ ।
सूचना लुकाएर ठेक्का प्रक्रिया
आर्थिक वर्ष २०७७/७८ मा उक्त विद्यालय भवनको ठेक्का प्रक्रिया अघि बढाइएको थियो । कानुनअनुसार राष्ट्रियस्तरको दैनिक पत्रिकामा बोलपत्र आह्वान र स्वीकृतिको सूचना अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने भए पनि उनीहरूले जानबुझेर त्यो प्रक्रिया पुरा नगरेको अख्तियारको आरोप छ ।
तीनै प्रतिवादीले आपसी मिलोमतोमा ‘सिटी पोस्ट राष्ट्रिय दैनिक’ जस्तो सीमित संस्करण मात्र प्रकाशित हुने पत्रिकामा सूचना प्रकाशित देखाई ठेक्का प्रक्रिया अघि बढाएका थिए । तर, प्रेस काउन्सिल नेपालबाट प्राप्त प्रमाणअनुसार ती सूचना वास्तविक रूपमा प्रकाशित नभएको पुष्टि भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
झुट्टा विवरण र आर्थिक अनियमितता
आयोगका अनुसार झुट्टा विवरणका आधारमा रौतहट एडभटाइजिङ एजेन्सीलाई २ लाख ५७ हजार ९७० रुपैयाँको भुक्तानी गरिएको थियो। यो कार्य नगरपालिकालाई आर्थिक हानि पुर्याउने र व्यक्तिगत लाभ लिने नियतले गरिएको ठहर गरिएको छ।
अख्तियारले सार्वजनिक खरिद ऐन उल्लंघन गर्दै सूचना प्रकाशन नगरी ठेक्का प्रक्रिया अघि बढाउनु गम्भीर अनियमितता भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगले आरोपपत्रमा उल्लेख गरेको छ, “मिलेमतोपूर्ण ढंगले गरिएको यस्तो कार्यले स्थानीय तहमा पारदर्शिता र उत्तरदायित्वमा गम्भीर चोट पुर्याएको छ।”

























