
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ ।
शनिबारका लागि तय गरिएको बैठक ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । पार्टी अध्यक्ष ओली रुघाखोकीका कारण स्वास्थ्यमा समस्या आएपछि बैठक आइतबारबाट सुरु गरिएको हो ।
शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा पार्टी पुनर्गठन र नेतृत्वबारे गम्भीर छलफल भइरहेको छ । आजको बैठकमा शुक्रबार बोल्न नपाएका पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्नेछन् । आज बोल्ने क्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल र लेखराज भट्ट रहेका छन् ।
शुक्रबारको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल र उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए ।
नेताहरूका अनुसार बैठकको केन्द्रमा पार्टी पुनर्गठन, नेतृत्वको भूमिकामाथि समीक्षा, र आगामी राजनीतिक दिशाबारे गहिरो बहस भएको छ।
बैठकमा हालैको जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीभित्र चलिरहेको वैचारिक तथा सांगठानिक बहस, आगामी फागुन २१ का लागि प्रस्तावित मध्यावधि निर्वाचन र आसन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने प्रस्तावहरूबारे छलफल भइरहेको छ ।
एमालेको आगामी रणनीति, सांगठानिक संरचना, र नेतृत्वको भविश्यबारे निर्णायक बहस चलिरहेका बेला गुण्डु बैठकलाई अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
























