काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताको विपक्षमा उभिँदै पार्टी नेतृत्वलाई दक्षिणपन्थी प्रवृत्तिको पछाडि लागेको आरोप लगाएका छन् ।
भारतको नयाँदिल्लीमा पत्नीको उपचारका लागि रहेका खनालले पार्टी सचिवालय बैठकमा पठाएको लिखित धारणा सार्वजनिक गर्दै एकता होइन, पुनर्गठन र रुपान्तरण नै आवश्यक रहेको स्पष्ट पारेका छन् ।
खनालले लेखेका छन्, “कमरेडहरू, अहिले हाम्रो पार्टीका लागि कुनै पनि शक्ति वा पार्टीसँग एकीकरण गर्ने समय होइन । यस्तो बाटोले हामीलाई भड्खालोमा लैजान सक्छ ।” उनले चार वर्षअघि नेकपा एमालेबाट अलग भई समाजवादी पार्टी गठन गर्नुको कारणलाई निर्मम ढंगले समीक्षा गर्नुपर्ने धारणा राखेका छन् ।
उनका अनुसार पार्टीको नवौं महाधिवेशनदेखि उठाइएको युवा नेतृत्व र कार्यशैलीप्रति पार्टी गम्भीर हुन जरुरी छ।
दक्षिणपन्थी सोचको आलोचना
खनालले पार्टी अध्यक्ष माधव नेपालसहित अन्य वामपन्थी नेताहरूलाई दक्षिणपन्थी सोचको प्रभावमा परेको भन्दै कडा आलोचना गरेका छन् । “वामपन्थी दलहरूले जनतालाई सही मार्ग देखाउनुपर्ने हो, तर अहिले नेतृत्वहरू विदेशी शक्तिहरूसँग अपमानजनक सम्झौता गर्दै यथास्थितिवादको बाटोमा लागेका छन्,” खनालको आरोप छ ।
उनले थप भने, “देश, जनता र वाम आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अपरिहार्य भएको छ।”
मोर्चा निर्माणको प्रस्ताव
पार्टी एकीकरणको सट्टा निर्वाचनका लागि व्यापक राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने खनालको प्रस्ताव छ । “प्रतिनिधिसभा निर्वाचनको तयारी अब मोर्चा बनाएर गम्भीर योजनासाथ गर्नुपर्छ । यही हो आजको सही बाटो,” उनले उल्लेख गरेका छन्।
युवा विद्रोह र नेतृत्वको असफलता
खनालले ‘युवा आन्दोलन केवल आवेग वा बाह्य षड्यन्त्रको परिणाम होइन, विगतका नेतृत्वको गम्भीर असफलताको परिणाम हो ।’ भनेका छन् ।
खनालले पछिल्लो समय देशभर देखा परेका युवा आन्दोलनहरू सत्ताधारी तथा पूर्वसत्ताधारी पार्टीहरूको नेतृत्व असफलताको नतिजा भएको ठहर गरेका छन् । “दुई तिहाइको सरकारले संसद विघटन गरेको समयदेखि नै राजनीतिक दिशाविहीनता सुरु भयो,” भन्दै उनले सत्तासीन दलहरूलाई जिम्मेवारी लिनुपर्ने बताए ।
पार्टीभित्र आमूल परिवर्तनको आवश्यकता
खनालको धारणा अनुसार, अहिलेको आवश्यकता भनेको पार्टीको पुनर्गठन, विचारधारागत स्पष्टता र नेपाली विशेषतायुक्त समाजवादप्रति समर्पित शक्तिको निर्माण हो । “यो फगत पुस्ता विशेषको माग होइन, सम्पूर्ण पुस्ताको साझा चाहना हो,” भन्दै उनले सबै प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिलाई गोलबन्द गर्ने आह्वान गरेका छन् ।
खनालको पछिल्लो धारणा नेकपा (एकीकृत समाजवादी) भित्र गहिरिँदो असहमति र वैचारिक मतभेदलाई उजागर गरेको छ । उनले पार्टीलाई नेतृत्व रूपान्तरण, वैचारिक पुनर्निर्माण र निर्वाचनमुखी मोर्चा निर्माणको बाटोमा लैजान जोड दिएका छन् — एकता होइन, वैचारिक पुनर्जागरण नै अहिलेको आवश्यकता हो भन्ने उनीहरूको अडान स्पष्ट छ ।


























