काठमाडौं । ‘जेनजी’ आन्दोलनका प्रतिनिधिले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् । शनिबार (असोज २५) राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् ।
संसदीय अभ्यासमा रहेका पुराना दलहरू निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुनसक्छ । त्यसैले घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उनीहरूले बताए ।
जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरूको चाहना रहेको बताए । “निर्वाचनमा सबै दलहरू आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन । सबैले भाग लिन पाउनुहुन्छ, अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला । निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिस्पर्धा हुन्छ, सबैजना आउनुहोस्,” उनले भने ।
ढुंगानाले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरूको स्पष्ट धारणा रहेको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू र सरकारबीच आउँदो निर्वाचनका बारेमा छलफल भएको थियो । उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका निम्ति शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त गरिएको थियो । सरकारका तर्फबाट राजनीतिक दलहरूलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो । (रासस)

























