काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको प्रहरीको बल प्रयोगमा आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लेखकले प्रहरीलाई बल प्रयोगको आदेश तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीका रुपमा आफूले दिएको भन्दै आएका चर्चा निराधार भएको बताएका छन् ।
“भदौ २३ गतेको घटनामा प्रहरीको गोली लागेर युवाहरूले ज्यान गुमाएपछि मैले साँझ नै गृहमन्त्री पदबाट राजीनामा दिएँ,” उनले भने, “तर बल प्रयोग गर्ने आदेश तत्कालीन प्रधानमन्त्री वा गृहमन्त्रीबाट दिएको हो भन्ने चर्चाहरू गलत छन् । यस्तो कुनै आदेश दिइएको छैन ।”
उनले कानुनी शासनको मान्यताभित्र रहेर सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
“२३ र २४ गतेका घटनाको छानबिनका लागि आयोग गठन भइसकेको छ । अब सरकार, आयोग र राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको पद्धतिभित्र रहेर काम गर्नुपर्छ,” लेखकले भने ।
उनले आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छ।
तत्कालीन प्रधानमन्त्री ओलीले पनि यसअघि आफूले गोली चलाउन आदेश नदिएको बताइसकेका छन् । लेखकले शुक्रबार पहिलोपटक सार्वजनिक रुपमा यस विषयमा आफ्नो धारणा राखेका हुन् ।

























